खुट्टा किन बाउँडिन्छ ?

सामान्यतया दैनिक क्रियाकलापमा आलस्यपन वा शरीर निष्क्रिय रहँदा खुट्टा बाउँडिने समस्या हुन्छ । खुट्टाको तिघ्रानेर वा पिँडुलाको मासु पल्टिनुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ ।

खुट्टा बाउँडि‌ंदा अत्यन्त कडा दुखाइ हुन्छ । प्रायः राति खुट्टा बढी बाउँडिने गर्छ । एक्कासि तिघ्रा र पिँडुलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा पल्टिन सक्छ ।

तिघ्राबाहेक खुट्टाको पैतला तथा शरीरका अन्य भाग पनि बाउँडिने गर्दछन् । यो समस्या अधिकांश मानिसले भोग्ने गरेका हुन्छन् । पल्टिएको ठाउँमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइको महशुस हुन्छ ।

प्राय: सबै उमेरका मानिसमा यो समस्या देखिने भए पनि अधवैंशे तथा बुढाबुढीलाई बढी हुने गर्छ । खुट्टा फर्किने समस्याको यकिन कारण त केही छैन । तर, सामान्यतया यस्ता कारणले गर्दा यस्तो समस्या देखापर्ने गर्दछ ।

महिला गर्भवतीको समयमा

गर्भवती महिलालाई पनि खुट्टा बाउँडिने सम्भावना बढी हुन्छ । यस्तो समस्या गर्भवती भएको दोस्रो चौमासिकमा सुरु भई तेस्रो चौमासिकमा अन्त्य हुने गर्छ । गर्भवती अवस्थामा पाठेघरले नशा तथा रक्तनलीमा चाप दिँदा खुट्टा बाउँडिने समस्या बढी हुन्छ ।

हाइपो थाइराइड

थाइराइड हर्मोनको कमीले अप्रत्यक्ष रूपमा खुट्टा बाउँडिन सक्छ । थाइराइड हर्मोनको कमीले क्याल्सियम शोषण गर्न र प्रयोग गर्नमा असर पार्छ ।

क्याल्सियमको कमीले मासु कमजोर हुने, निदाउने र पल्टने हुन्छ । थाइराइड हर्मोन कम हुँदा मेटाबोलिज्म पनि कम हुने गर्छ तसर्थ कसरत गर्दा उच्च मेटाबोलिज्मको आवश्यकता पूर्ति हुन नसकेर खुट्टा बाउँडिने गर्छ ।

पोषक तत्वको कमी

पोषक तत्वहरू जस्तै:- सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम आदि) शरीरलाई आवश्यक मात्रामा उपलब्ध नहुँदा खुट्टा बाउँडिने गर्छ ।

यी पोषक तत्वहरूले स्नायुको सन्देश लैजान र मासु खुम्च्याउन सहयोग गर्छ भने क्याल्सियमले मासु खुम्च्याउन र स्नायु सन्देश निकाल्न सहयोग गर्छ ।

लामो समय उभिँदा वा बस्दा

कडा ठाउँमा लामो समयसम्म उभिँदा, अग्ला हिल लगाउँदा र खुट्टामा नमिलेको जुत्ता लगाउँदा वा एकै ठाउँमा बसिरहँदा मासु थाक्न गई खुट्टा फर्किने सम्भावना बढी हुन्छ ।

सन् २०१२ मा इर्गोमिक्समा प्रकाशित एक अध्ययनअनुसार लामो समयसम्म उभिनु पनि खुट्टा फर्किनुका एउटा मुख्य कारण हो ।

जलवियोजन

शरीरमा पर्याप्त मात्रामा तरल पदार्थ नहुँदा यसले शरीर तथा दिमागलाई शिथिल बनाउँछ । जसले गर्दा शरीरको मासुलाई पनि राम्रोसँग काम गर्न दिँदैन ।

हाम्रो शरीरको मासु ७० प्रतिशत जति पानीले बनेको हुन्छ । जसले मासुलाई खुम्चिन र खुल्न सहयोग गर्छ । त्यसैले, पर्याप्त पानी नपिउँदा पनि खुट्टा बाउँडिने समस्या बढी हुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित