प्रणय दिवसमा हेर्नुहोस् हलिउडका यी उत्कृष्ट १० ‘रोमान्टिक’ फिल्म

अहिले प्रेम सप्ताह अर्थात् ‘भ्यालेन्टाइन विक’ चलिरहेको छ । फेब्रुअरी ७ मा ‘रोज डे’ बाट सुरु भएको प्रेम सप्ताह भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ सम्म चल्छ ।

यस सप्ताहमा प्रेमिल जोडीले आपसमा प्रेम साटासाट गर्ने, आफूले माया गर्ने मान्छेलाई प्रेमिल भाव व्यक्त गर्ने चलन छ । ‘भ्यालेन्टाइन विक’मा प्रेमी प्रेमिका डेट गर्ने, घुम्न जाने, उपहारहरु साटासाट गर्ने चलन विश्वभर छ ।

भ्यालेन्टाइन विकमा युगल जोडीले सँगै फिल्म पनि हेर्छन् । आज हामी भ्यालेन्टाइन विकको यो रोमान्टिक सिजनमा प्रेमी प्रेमिकाले सँगै बसेर हेर्नका लागि प्रेमकथामा आधारित दश वटा हलिउड फिल्म सिफारिस गर्दैछौँ ।

टाइटानिक

सन् १९९७ मा रिलिज भएको टाइटानिक रोमान्टिक जनराको सफल फिल्म हो । निर्देशक जेम्स केमरुनको यस फिल्ममा लियोनार्दो डिक्याप्रियो र केट विन्स्लेटको मुख्य भूमिका रहेको यस फिल्म एटलान्टिक महासागरमा डुबेको ‘टाइटानिक’ जहाजको पृष्ठभूमिमा आधारित छ ।

टाइटानिकमा दुई फरक सामाजिक वर्गका तन्नेरीको प्रेम कथा देखाइएको छ । २० करोड अमेरिकी डलरको लागतमा निर्माण गरिएको यस फिल्मले बक्स अफिसमा २ अर्ब २० करोडभन्दा धेरै कमाएको थियो ।

द नोटबुक

सन् २००४ मा रिलिज भएको द नोटबुक पनि हलिउडमा प्रेम कथामा आधारित उत्कृृष्ट चलचित्रमध्ये एक हो । निक कासाभेटिसको निर्देशन रहेको यस फिल्ममा रायन गोस्लिङ र रेचल मक्याडम्सको मुख्य अभिनय छ ।

फिल्मले नर्सिङ होममा बस्ने एक जना वृद्ध मानिसको कथा भन्छ । सन् १९९६ मा निकोलस स्पाक्र्सले लेखेको ‘द नोटबुक’ मा आधारित यस फिल्ममा सन् ४० को दशकमा प्रेममा परेका युवा जोडीको कथा देखाइएको छ ।

द फल्ट इन आवर स्टार्स

सन् २०१४ मा रिलिज भएको यस फिल्म जोन ग्रिनको द फल्ट इन आवर स्टार्स उपन्यासमा आधारित छ । फिल्ममा क्यान्सरपीडित जोडीको प्रेम सम्बन्ध देखाइएको छ ।

जोश बुनले निर्देशन गरेको फिल्ममा शेलिन उड्ली र एन्सेल अल्गोर्टको मख्य भूमिका छ । १२ मिलियन लगानी निर्मित यस फिल्मले ३०७ मिलियन कमाएको थियो ।

क्यासाब्लाङ्का

सन् १९४२ मा रिलिज भएको क्यासाब्लाङ्का प्रेम कथामा आधारित हलिउडको उत्कृष्ट फिल्म हो । दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा निर्माण गरिएको यस फिल्ममा मोरक्को क्यासाब्लाङ्कामा बस्ने अमेरिकी प्रवासी, उनकी विवाहित प्रेमिका र प्रमिकाको श्रीमानको त्रिकोणात्मक प्रेम कथा देखाइएको छ ।

माइकल कर्टिजको निर्देशन रहेको यस फिल्ममा हम्फ्री बोगर्ट, इन्ग्रिड बर्गमन र पल हेनरिडको मुख्य भूमिका रहेको छ ।

इट ह्याप्पेन्ड वान नाइट

यसलाई हलिउडको धेरै पुरानो र उत्कृष्ट फिल्ममध्ये एक मानिन्छ । सन् १९३४ मा रिलिज भएको यस फिल्ममा कठोर बाबुको चङ्गुलबाट उम्कन प्रयासरत छोरी कसरी एउटा पत्रकारसँग प्रेममा फस्छिन् भन्ने कथा देखाइएको छ ।

स्यामुअल हप्किन्स आडम्सको ‘नाइट बस’ नामक लघुकथामा आधारित यो फिल्मको निर्देशन फ्राङ्क क्याप्राले गरेका हुन् भने फिल्ममा क्लार्क गेबल र क्लडेट कोल्बेरको प्रमुख भूमिका रहेको छ ।

गन विद द विन्ड

यो पनि हलिउडको उत्कृष्ट फिल्ममा पर्छ । सन् १९३९ मा रिलिज भएको यस फिल्ममा अमेरिकी गृहयुद्धका बेला दक्षिणकी सुन्दरी र एक जना मुनाफाखोरबीचको प्रेम सम्बन्ध देखाइएको छ ।

मर्गरेट मिचेलद्वारा लिखित ‘गन विद द वन्ड’ उपन्यासमा आधारित यस फिल्मको निर्देशन भिक्टर फ्लेमिङले गरेका हुन् भने यसमा क्लार्क गेबल, भिभियन लेइग र ओलिभिया डे हेभिलण्डको मुख्य भूमिका रहेको छ ।

ह्वेन ह्यारी मेट सली

सन् १९८९ मा रिलिज भएको यो फिल्ममा सुरुमा आफूले घृणा गर्ने मान्छेसँग पछि प्रेम बसेको कथा देखाइएको छ । रब रेइनरले निर्देशन गरेको यस फिल्ममा बिली क्रिस्टल र मेग रायनको प्रमुख भूमिका रहेको छ ।

रोमान्टिक कमेडी जनराको यस फिल्म १६ मिलियन डलरको लागतमा बनाइएको थियो भनेयसले ९३ मिलियन डलर कमाइ गरेको थियो ।

अ वाक टु रिमेम्बर

सन् २००२ मा रिलिज भएको अ वाक टु रिमेम्बर पनि प्रेम कथामा आधारित हलिउडको चर्चित फिल्म हो । आडा स्याङ्कम्यानले निर्देशन गरेको यो फिल्ममा शेन वेस्ट र मेण्डी मुरको मुख्य भूमिका रहेको छ ।

सन् १९९९ मा निकोलस स्पाक्र्सले लेखेको यही शीर्षकको उपन्यासमा आधारित यस फिल्ममा नर्थ क्यारोलाइनका दुई किशोर किशोरीको प्रेम सम्बन्ध देखाइएको छ ।

लिसा फ्राङ्केस्टाइन

रोमान्टिक हरर कमेडी जनराको यस फिल्म लिसा स्वालोज नाम गरेकी किशोरीको वरिपरि घुम्छ ।

सन् १८१८ मा मेरी शेलीले लेखेको ‘फ्राङ्कस्टाइन, अर द मोडर्न प्रोमिथियस’ नामक उपन्यासमा आधारित यस फिल्ममा क्याथरिन न्युटन र कोल स्प्राउसको मुख्य भूमिका रहेको छ । यो फिल्मलाई जेल्दा विलियम्सले निर्देशन गरेकी हुन् ।

द भाउ

सन् २०१२ मा रिलिज भएको यस फिल्ममा कार दुर्घटनामा परी कोमामा पुगेकी श्रीमतीको मन पुनः जित्ने श्रीमानको प्रयासलाई देखाइएको छ । माइकल ससीले निर्देशन गरेको यस फिल्ममा रेचल मकआडम्स र च्यानिङ टटुमको मुख्य भूमिका छ ।

उक्त फिल्म किम र क्रिकिट कार्पेन्टरको सत्य घटनामा आधारित छ । ३० मिलियन डलरमा निर्माण गरिएको यस फिल्मले १९६ मिलियन डलर कमाएको थियो ।

र, एउटा बोनस फिल्म : ‘फिफ्टी फस्ट डेट’

सन् २००४ मा रिलिज भएको यस फिल्ममा बिर्सने रोग (एम्नेसिया) बाट पीडित प्रेमिकाको मन जित्न प्रेमीले हरेक दिन गर्ने प्रयासलाई देखाइएको छ ।

पिटर सेगलले निर्देशन गरेको यो फिल्ममा आडम स्याण्डलर र ड्रयु बेरीमोरको मुख्य भूमिका रहेको छ । ७५ मिलियन डलर लागतमा निर्मित यस फिल्मले १९८ मिलियन डलर कमाइ गरेको थियो ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित