तपाई अब म ज्यान लगाएर पढ्छु भनेर कसम खानु हुन्छ । बिहानै सधैँ योगा र व्यायाम गर्छु, दौडिन्छु भनेर सोच्नु हुन्छ ।
बाहिरको अनहेल्दी खानेकुरा खान पूरै बन्द गर्छु आदि संकल्प गर्नु हुन्छ । तर त्यो संकल्प धेरै बेरसम्म टिक्दै टिकेन । यस्तो किन हुन्छ होला ? कहिले सोच्नु भएको छ ? हामी जे चाहन्छौँ त्यही गर्न किन सक्दैनौँ । किन होला ? संकल्प वा कसम अडिग बनाउन के गर्ने होला ?
गलत समय र सुरुमै आवश्यकताभन्दा धेरै परिश्रमका कारण संकल्पहरू टुट्छन् । पत्याउनु भएन ? वास्तविकता नै यही हो । संकल्प टुट्ने सबैभन्दा ठूलो कारण गलत दिशा अनि गलत समयमा गरिएको मेहनत हो ।
राति सुत्ने बेलामा भोलि त म यस्तो गर्छु भनेर संकल्प लिइन्छ । अनि बिहान उठेर एकै दिन ८ किमी दौडिएर आउँछन् । नियमित दौडिने इच्छाशक्ति एकै दिनमा खर्च हुन्छ । फलतः संकल्प धेरै दिनसम्म टिक्दै टिक्दैन ।
पहिलो दिनमा आफूले लगाउन सक्ने ऊर्जाको ५० प्रतिशत मात्रै खर्च गर्नुस् । नयाँ कोसिस, नयाँ बानीमा भएरभएको ताकत नलगाउनुस् ।
दिनहुँ ८ घण्टा दौडिने वा ६ घण्टा पढ्ने संकल्प लिइएको छ भने पहिलो दिनमा त्यसको आधा मात्रै पूरा गर्नुस् । संकल्प जीवनको हिस्सा बनोस् भन्ने चाहनु हुन्छ भने इच्छाशक्ति सधैँ भरि उत्तिकै हुनुपर्छ ।
सुरुमै आवश्यकताभन्दा धेरै मेहनत गरियो भने पहिलो दिनमै तपाई थाक्नु हुन्छ । संकल्प/सोख छिट्टै छुमन्तर हुन्छ । २० दिनसम्म थोरै थोरै मात्रै भएपनि काम गरिरहनुस् ।
बिस्तारै कामको दरलाई बढाउनुस् । संकल्पलाई बोझ वा कामको रुपमा नहेर्नुस् । यसलाई दैनिक जीवनमा ढाल्ने कोसिस गर्नुस् । २८ दिनसम्म यो हाम्रो बानीको हिस्सा बन्नेछ ।