लिंग कत्रो हुनुपर्छ ? लिंग कसरी ठूलो बनाउने ?

म अविवाहित किशोर हुँ । म २१ वर्षको भएँ । मेरो लिंग निकै सानो छ, जसले गर्दा मलाई मेरा साथीहरू जिस्क्याउँछन् । यही कारणले मेरी प्रेमिका पनि मसँग खुसी छैनन् । लिंग के कारणले सानो हुन्छ ? मैले आफ्नो लिंग ठूलो बनाउन के–कस्तो उपाय अपनाउनुपर्ला ? – ०३६७

विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १९ वर्षको उमेर किशोरावस्था हो । यस अर्थमा तपाईंले किशोरावस्था पार गरिसक्नुभएको छ र युवावस्थामा हुनुहुन्छ ।

लिंग कत्रो हुनुपर्छ ?

सामान्यत: उत्तेजित अवस्थामा लिंगको सालाखाला लम्बाई यस्तै १५ सेन्टिमिटर हुन्छ । धेरैजसोको लिंगको लम्बाइ १३ देखि १६ दशमलव ५ सेन्टिमिटरभित्र परे पनि यस्तै ७ प्रतिशतजति व्यक्तिको लिंग ११ सेन्टिमिटरको हाराहारीमा हुने एक अध्ययनले देखाएको छ ।

केही मानिसको लिंग साँच्चिकै सानो हुन सक्छ र त्यस्तो स्थितिलाई micropenis jf micro-phallus भनिन्छ । शिशु जन्मदा लिंग तन्काएर नाप्दा १ दशमलव ९ सेन्टिमिटर अर्थात पौने (३/४) इन्चको भए त्यसमा शंका गर्नुपर्ने हुन्छ र कारणको खोजिनीति गर्नुपर्छ ।

यस्तै हजार जना व्यक्तिमध्ये ६ जनामा यस्तो स्थिति हुन सक्ने देखिएको छ । तपाईंले आफ्नो लिंगको नाप नलेख्नुभएका कारण तपाईंको लिंग साँच्चिकै सानो छ भन्न सकिने स्थिति भएन ।

लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार फरक–फरक हुन सक्छ । कसैको लामो हुन सक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो भने कसैको पातलो अनि आकार पनि फरक–फरक हुन सक्छ ।

एक अध्ययनले लिंगको सालाखाला लम्बाइ उत्तेजित नहुँदा ३ दशमलव ८९ इन्च तथा उत्तेजित हुँदा ६ दशमलव २१ इन्च हुने कुरा उल्लेख गरेको छ ।

त्यस्तै सालाखाला मोटाइ उत्तेजित नहुँदा ३ सेन्टिमिटर ७५ इन्च र उत्तेजित हुँदा ४ दशमलव ८५ इन्च हुन्छ । अहिले देशअनुसार लिंगको नापसम्बन्धी गरिएका अध्ययनहरूका नतिजा पनि उपलब्ध छन् ।

अध्ययनहरूअनुसार केही विविधता भए पनि कङ्गो (७ दशमलव १ इन्च), इक्वेडर (६ दशमलव ९ इन्च), हल्यान्ड (६ दशमलव २ इन्च), फ्रान्स (५ दशमलव ७ इन्च), बेलायत (५ दशमलव ५ इन्च), संयुक्त राज्य अमेरिका (५ दशमलव १ इन्च), पाकिस्तान (४ दशमलव ८ इन्च), दक्षिण कोरिया (४ दशमलव ४ इन्च), जापान (४ दशमलव ३ इन्च), थाइल्यान्ड (४ इन्च), भारत (४ इन्च) तथा उत्तरी कोरिया (३ दशमलव ८ इन्च) देखिएको छ ।

नेपालको सन्दर्भमा लिंगको नापको तथ्याङ्क उपलब्ध नभएका कारण यसै भन्न नसकिए पनि हाम्रो वरिपरिका देशका बासिन्दासँग वंशाणु वा जातीय तथा अन्य कतिपय कुरा मिल्ने भएकाले तुलना गर्न मनासिव नै होला ।

लिंगको नाप केले निर्धारण गर्छ ?

यो एउटा विशेष अङ्ग हो । यो अङ्ग मानव शरीरको एउटा अङ्ग मात्र नभै यसको सांकेतिक महत्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्ग भएकाले पनि यस्तो भएको हुन सक्छ ।

कतिपय व्यक्तिले यसको आकार वा लम्बाईलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँग जोडिएको मान्छन् । त्यसैले कतिपय व्यक्तिमा आफ्नो लिंगप्रति निकै चासो र चिन्ता हुन्छ ।

लिंगको नाप र आकार किशोरावस्थाका बेला आन्तरिक रस (हर्मोन) हरूका कारणले हुने विकासमा भर पर्छ । लिंगको नाप वा आकार शरीरको नाप वा आकारसँग असम्बद्ध हुन्छ, त्यसैले शरीरको आकार वा मांसपेशीको नापले पनि लिंगको आकारलाई प्रतिविम्बित गर्दैन ।

व्यक्ति कम उचाइ र पातलो हँुदैमा लिंग सानो हुने वा बढी उचाई तथा सुगठित मांसपेशीयुक्त शरीर हुँदैमा ठूलो हुने होइन ।

के लिंग साथीको जस्तै हुनुपर्छ ?

पहिलो कुरा त आफ्नो लिंग साथीलाई किन देखाउनुपर्‍यो ? पक्कै पनि तपाईंको शरीर तथा अन्य अङ्ग साथीको भन्दा फरक छ भने लिंग पनि फरक हुन्छ, लिंग यस्तै वा यत्रै हुनुपर्छ भन्ने कुरा तर्कसंगत छैन ।

आफ्नो लिंगको नाप ठीकै भए पनि कतिपयले वास्तविकता बिर्सेर आफूले आशा गरेको लम्बाइ नै हुनुपर्छ भनेर मान्ने भएकाले पनि बढी समस्या परेको देखिन्छ ।

प्रेमिकालाई कसरी खुसी राख्ने ?

कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुरा उसको शारीरिक पक्षका साथै मानसिक पक्षसंग अन्तरङ्ग सम्बन्ध राख्छ । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख पाउने–नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सकिँदैन, सहयोग मात्र गर्न सकिने हो ।

अर्को कुरा, तपाईंले महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुर हो भनेर थाहा पाउनुभकै होला । प्राय:जसो महिलाले यही अङ्गको घर्षणबाटै यौन सन्तुष्टि प्राप्त गर्छन् । महिला तल र पुरुष माथि भएर सामान्यत: गरिने यौनसम्पर्कमा लिंगले भगांकुरलाई घर्षण गर्दैन ।

लिंगको लम्बाइ वा मोटाइ बढाए पनि त्यसले भगांकुरको घर्षणमा खासै फाइदा पुग्ने होइन, बरु त्यसका लागि एकातिर तपार्इंको लिंगभन्दा औंला नै बढी सहयोगी हुन्छ भने अर्कातिर आसन परिवर्तन प्रभावकारीसिद्ध हुनसक्छ । अर्को कुरा, महिलाको योनिको बाहिरी (योनिद्वार निरको) भाग यौन संवेदनशील हुन्छ, न कि भित्री भाग ।

लिंग बढाउने उपाय : लिंग बढाउने उपायहरूलाई मोटामोटी रूपमा चार किसिममा विभाजित गर्न सकिन्छ :

कसरत तथा हातैले तन्काउने विधि

दैनिक रूपमा पर्याप्त समय लिंग–दोहन (दुहुने) गरी तन्काए लिंगको नाप बढ्ने दाबी गरिन्छ ।

तौल वा यन्त्रको सहायताले तन्काउने विधि

कुनै वजनदार वस्तु लिंगमा झुन्डयाई वा screw-extender भएका यन्त्रले लिंगको नाप बढाउनेजस्ता विधि प्रचलित छन् । कतिपयले यस्ता विधिले अनावश्यक रूपमा लिंगमा चोट पुग्ने कुरामा सजग हुनुपर्ने बताएका छन् ।

पम्पको प्रयोग

दबाब कम गर्ने पम्प प्रयोग गरी लिंगमा रक्त प्रवाह बढाउने यो विधिले अन्य समयमा भन्दा लिंगको उत्तेजना कडा र बढी हुने कुरा गरेको छ । यसको दीर्घकालीन प्रभावका बारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजाने लिंगमा चोट पुग्ने सम्भावना यसमा पनि हुन्छ ।

शल्यक्रिया

यो विधिमा लिंगलाई अड्याउने तन्तु (suspensary ligament) काट्ने, बोसो (Fat) तन्तु भर्ने वा नचबात गर्ने वा अन्य वस्तु राख्ने (प्रत्यारोपण) जस्ता अनेक उपाय गरिन्छ । यस्तो शल्यक्रिया कुशल शल्य चिकित्सकवाट गराउनुपर्छ ।

यसका बाबजुद कतिपय स्थितिमा शल्यक्रिया गराउने व्यक्तिले आशाअनुरूप नतिजा नपाएको कुरा पनि आएको छ, जसले असन्तोषलाई थप्ने काम मात्र गर्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित