चाहिएको बेला किन लिंग उत्तेजित हुँदैन्

हामीले इन्द्रियहरूवाट ग्रहण गरेका सन्देशहरू मस्तिष्कसम्म पुगेपछि चेतन रूपमा हामीले त्यो कुरा थाहा पाउँछौं ।

विभिन्न अङ्गहरू (स्रोत) बाट सन्देशहरू स्नायु प्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं ।

यौन उत्तेजना हुने किसिमका सन्देशहरू प्राप्त भए हामीमा यौन उत्तेजना बढ्छ । व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक–फरक हुनसक्छ ।

यसरी यौन उत्तेजित हुन थालेपछि लिंगका धमनीहरूबाट बढी मात्रामा रगत लिंगमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिंगबाट रगत बाहिर निस्कने क्रम घट्छ ।

यसरी लिंगमा रगत भरिन्छ र लिंग कडा, मोटो एवं लामो हुन्छ । यसलाई नै हामी लिंग उत्तेजित भएको भन्छौं । लिंगको कडापन तथा त्यसको निरन्तरता उत्तेजनाको स्रोत तथा व्यक्तिको शारीरिक तथा मानसिक स्थितिमा भर पर्छ ।

यौनक्रिया मात्र शारीरिक क्रिया नभै मानसिक तथा भावनात्मक सम्बन्धहरूको मिश्रणसहितको एउटा जटिल कार्य हो । यौन उत्तेजनाका सन्देश मस्तिष्कसम्म यौन अङ्गबाहेक अन्य इन्द्रियबाट पनि आउँछन्, जस्तै— स्पर्श, दृष्टि, ध्वनि आदि ।

उमेरअनुसार यौनेच्छा अनि लिंग उत्तेजनामा समेत परिवर्तन आउँछ । किशोरावस्थामा यौनका कुरा सोच्दा मात्र पनि उत्तेजित भइन्छ भने वयस्क उमेरमा त्यसका लागि थप मेहनत गर्नुपर्छ । यौनाङ्ग चलाउँदा त्यसमा सहयोग मिल्छ नै, पौढ अवस्थामा भने अझ बढी समय लाग्नसक्छ ।

चाहिएका बेला किन लिंग उत्तेजित नभएको ?

चाहिएको बेला चाहेजस्तो गरेर लिंग उत्तेजित नभई यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन् ।

लिंग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिंगलाई त्यही स्थितिमा कायम राख्न नसक्ने समस्यालाई impotence वा erectile dysfunction भनिन्छ ।

राम्रोसँग लिंग उत्तेजित नहुने कारण शारीरिक, मानसिक अथवा दुवै हुन सक्छन् । लिंगको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिंग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ ।

मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरी भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिंग उत्तेजित नहुने समस्या सिर्जना गर्न सक्छ ।

एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधी पनि यसका कारण हुन सक्छन् । पार्किन्सन वा क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीहरूले पनि यस्तो गराउन सक्छन् ।

साह्रै थकाइ लागेकाले होस् वा अधिक मादक पदार्थ सेवन गरेकाले होस्, लिंग उत्तेजनामा नकारात्मक असर परेको हुन सक्छ ।

तपाईंले त्यस्तो कुनै प्रसङ्ग उल्लेख गर्नु नभएकाले तपाईंको सन्दर्भमा त्यस्तो केही भएजस्तो लाग्दैन । तपाईंले हस्तमैथुनका क्रममा लिंग उत्तेजित हुने कुरा गर्नु भएकाले पनि शारीरिक कारण भएको देखिँदैन ।

त्यसैगरी तनाव, चिन्ता, ग्लानी, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौनसम्बन्धी कुरामै अरुचि हुनु, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भनेर चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग हुनु जस्ता कुरा पनि लिंग उत्तेजित नहुने कारण हुनसक्छन् ।

समाधान

यसरी अपेक्षित रूपमा लिंग उत्तेजना नहुँदा त्यसका बारेमा निकै चासो तथा चिन्ता हुनसक्छ । त्यसमा पनि विवाहको सोच बनाइरहेका व्यक्तिमा ।

यस्तो बेला तपाईंको मन भित्र आफ्नो यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाब हुन सक्छ । त्यस्तो भए तपाईंको समस्या अझ चर्को बन्न सक्छ । यस्तो स्थितीलाई peformance anxiety भनिन्छ । मुख्य कुरा तनाव, चिन्ता वा भयलाई कम गर्न सक्नुपर्छ । आत्मविश्वास बढाउने कार्यमा लाग्नुपर्छ ।

यौनसाथीसंग लिंग उत्तेजित हुने गरी यौनसम्पर्क रहित यौनक्रियाकलापमा पर्याप्त समय बिताए सहयोग पुग्न सक्छ । दुवैले आफ्नै समस्या हो भन्ने मानेर यो समस्या समाधान गर्ने प्रतिबद्धताका साथ प्रयास गरे सबै कुरा ठीक हुनसक्छ ।

तपाईंले यस्तै २८ वर्षको उमेरमा केटी साथी भएको कुरा गर्नुभएको छ । किशोरावस्थादेखि नै केटीसँगको मित्रता अनि प्रणय सम्बन्धको विकास वास्तवमा यौन विकासको पाटो हो ।

यो पक्षमा तपाईंको भोगाइ र अनुभव के कस्तो थियो भन्ने सन्दर्भमा पनि विचार गर्न आवश्यक हुन्छ । तपाईंले प्रयोग गर्नुभएको औषधी tentex forte आयुर्वेदिक औषधी हो ।

यसको प्रयोग यौनेच्छा बढाउन र लिंग उत्तेजनाका लागि गरिने उत्पादक कम्पनीले जनाएको छ । समस्या कायम रहे चिकित्सकसँग सम्पर्क राख्नुपर्छ जसले गर्दा समस्याको सही निदान र त्यसै अनुसारको उपचार गर्न सकियोस् । तपार्इंका लागि भियाग्राजस्ता औषधीको उपयोग लाभदायक हुन सक्छ ।

महत्वपूर्ण कुरा के भने दृढ अठोट तथा धैर्यता यसका लागि अति नै आवश्यक हुन्छ । विवाह भएको स्थितिमा भावनात्मक तथा प्रणय सम्बन्धका लागि समर्पित भएर दुवैले प्रयास गर्नुपर्छ ।

सम्बन्धलाई रमाइलो बनाउन के गर्न सकिन्छ भन्ने विषयमा पनि सोच्नुपर्ने हुन्छ । त्यसका लागि यौन साथीको सहयोग एवं समझदारी उत्तिकै महत्वपूर्ण हुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित