म प्रत्येक दिन हस्तमैथुन गरेर सुत्छु । त्यसले मलाई अर्को दिन थकान तथा कमजोरी महसुस गराउँछ । यसले भविष्यमा मेरो स्वास्थ्यलाई नकारात्मक असर त गर्दैन ? -एस.
मानिस जन्मजात नै यौनिक हुन्छ । आफ्नो जिज्ञासु स्वभावका कारण उसले आफ्नो शरीरका बारेमा पनि खोजीनिती गर्छ र कुन अंगको स्पर्शबाट कम र कुन अंगको स्पर्शबाट बढी सुखानुभूति प्राप्त हुन्छ, थाहा पाउन थाल्छ ।
फ्रायडका अनुसार पूर्व लैंगिक अवस्थामा यौन उत्तेजनाको केन्द्र यौन अंगहरूमा हुँदैन । जन्मदेखि एक वर्षसम्मको उमेरमा यौन उत्तेजनाको केन्द्र मुख हुन्छ ।
फ्रायड भन्छन्— स्तनपान वा अन्य केही कुरा चुसेर एक बालकले आनन्द प्राप्त गर्छ । त्यसपछिको समयमा त्यस्तो केन्द्र मलद्वारमा हुन्छ र दिसा गर्दा बालकले त्यस्तो आनन्द पाउँछ । यो अवस्था १ देखि ३ वर्षसम्मलाई मानिएको छ ।
त्यसपछि बालक लैङ्गिक अवस्थामा प्रवेश गर्छ र उक्त अवस्थामा पनि मुख, ओठ अनि मलद्वार क्षेत्र यौन आनन्दको प्रमुख अंगका रूपमा कायम रहन्छ ।
त्यो अवस्थाको सुरुको समय अर्थात तीन वर्षदेखि पाँच वर्षको उमेरमा यौन उत्तेजनाको केन्द्र यौनाङ्गमा हुन्छ । केटाहरूमा लिंग यसको केन्द्र हुन्छ भने केटीहरूमा भगांकुर । यो अवस्थामा छोराहरू आफ्नै आमाप्रति र छोरीहरू पिताप्रति आकर्षित हुन्छन् ।
केटाहरूका लागि यो अवस्थालाई ओडिपल अवस्था तथा केटीहरूका लागि इलेक्ट्रा अवस्था भनिन्छ । यो अवधिपछि सुषुप्तावस्था सुरु हुन्छ । पाँच वर्षको उमेरपछि किशोरावस्थामा नपुगुन्जेलसम्म बालबालिकाहरू यही अवस्थामा रहन्छन् ।
किशोरावस्थामा वयष्क हुने क्रमको थालनी हुन्छ । यौन परिवर्तनका लागि आवश्यक आन्तरिक रसहरूको स्राव सुरु भएपछि किशोरावस्थाको थालनीसँगै यो लैंगिक अवस्था वयस्कको जस्तै भएर जान्छ र यौन उत्तेजनाको केन्द्र लिंगमा हुन्छ । यो अवस्थामा लिंग चलाउनु खेलाउनु र आनन्द प्राप्त गर्नु एक किसिमकले स्वभाविक रूपमै हुन थाल्छ ।
हस्तमैथुनले के–कस्तो असर पार्ला ?
यौन आनन्द प्राप्त गर्ने उपायमध्ये सबैजसोका लागि यौन अंगको घर्षण नै प्रमुख हो । यौनसम्पर्क गर्दा यौन अंगहरू आपसमा घर्षण गराइन्छ ।
मानिसले आफ्नो यौन अंगको घर्षण अरू कसैको यौन अंगमा गराए मात्र यौन आनन्द प्राप्त गर्छन् भन्ने होइन । सिद्धान्तत: सम्भोग गर्दा र हस्तमैथुन गर्दा यौन अंगको घर्षणबाट आनन्द प्राप्त गर्ने प्रक्रिया उस्तै हो ।
त्यसैले सम्भोग गर्दा हानि हुँदैन र हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन । यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग । त्यसैले समाजमा अनेक मिथ्या धारणाहरू व्याप्त छन् ।
हस्तमैथुन गरे अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाह पश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रमहरू व्याप्त छन् । यसले स्मरण शक्तिमा पनि ह्रासमा आउने होइन ।
बरु फाइदा पो छ त
अनेक भ्रम भए पनि हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । तनावबाट मुक्त मानिस बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ र उसको स्मरण शक्तिसमेत बलियो बनाउँछ ।
यौन चाहना शान्त पार्न मद्दत पुर्याउने भएकाले कतिपय यौन अपराधलाई कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् ।
यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समय दुरुपयोगबाट पनि जोगाउँछ ।
अर्को व्यक्तिसँग यौन सम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी वा अन्य यौन संक्रमणहरू सर्नबाट पनि जोगिन सकिन्छ ।
हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यससँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । मानिसले वाल्यकालदेखि नै ठूला व्यक्तिहरूको व्यवहारलाई चनाखो रूपमा अवलोकन गरिरहेको हुन्छ र त्यसैका आधारमा यौनसम्बन्धी धारणा बनाउन थाल्छ ।
त्यसैले यसमा हाम्रा सामाजिक मूल्य–मान्यताको ठूलो हात हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य–मान्यताले यस्ता नकारात्मक असरहरू देखा पर्छन् ।
के हस्तमैथुनले नै कमजोर बनाएको हो ?
स्वभाविक हो— कुनै शारीरिक परिश्रम हुने क्रियाकलाप गर्दा थकाइ लाग्छ । धेरै शक्ति खर्च हुने किसिमको क्रियाकलापमा बढी थकाई लाग्नु स्वभाविक पनि हो ।
एकै किसिमको क्रियाकलाप गर्दा कति शक्ति खर्च हुन्छ भन्ने कुरा उक्त क्रियाकलापको तीव्रता, समयावधि अनि व्यक्तिको तौलजस्ता कुरामा भर पर्छ । अब हस्तमैथुन गर्दा कति शक्ति खर्च हुन्छ हेरौं ।
सामान्यत: हस्तमैथुन गर्दा यस्तै ३ देखि ६ क्यालोरी प्रतिमिनेट खर्च हुन्छ । दौडँदा यस्तै १४ देखि १८ क्यालोरी प्रतिमिनेट, भर्याङ चढ्दा यस्तै १२ देखि १४ क्यालोरी प्रतिमिनेट खर्च हुन्छ भने पौडी खेल्दा यस्तै १० देखि १२ क्यालोरी प्रतिमिनेट खर्च हुन्छ ।
यसरी तुलनात्मक अध्ययनपछि तपाईंले थाहा पाइसक्नुभयो होला, हस्तमैथुन एउटा विशेष क्रियाकलाप भए पनि यसमा त्यति धेरै शक्ति अर्थात क्यालोरी खर्च हुँदैन । कतै तपाईंलाई थकाइ लाग्ने अन्य कुनै कारण त छैन भनेर पनि विचार गर्नुपर्ने हुन्छ ।
यसरी लामो समयसम्म थकाइ लगाउने कारणहरूमा रक्तअल्पता, निराशपन, चिन्ता, खानासम्बन्धी एलर्जी, ह्दयरोग, मधुमेह, निदाएका बेला सास रोकिने अवस्था, थाइराइडले राम्रोसँग काम नगर्ने जस्ता कतिपय कारण हुन सक्छन् । यसमा तपाईंले हस्तमैथुनलाई दोष दिनुभन्दा चिकित्सकबाट जाँच गराउनु नै बेस होला ।
समाधान
मुख्य बुझ्नुपर्ने कुरा, हस्तमैथुनले बाहिर चर्चा गरिएजस्तो स्वास्थ्यसम्बन्धी हानि–नोक्सानी पुर्याउँदैन । कतिपय स्थानमा यो प्राकृतिक यौन क्रियाकलापको उपचार गर्ने चलन छ र प्रशस्त खर्च गर्ने/गराउने काम पनि हुन्छ, जुन आवश्यक छैन ।
अनावश्यक रूपमा चिन्ता गरे वा हिनताबोध गरे त्यसको भने नकारात्मक असर पर्न सक्छ । यसलाई आफ्नो मनबाट निकाल्न सक्नुपर्छ ।