मृत्युपछि के हुन्छ ?

एकपटक बुद्ध आफ्ना शिष्यका साथमा संवादमा व्यस्त थिए । उनीहरू बुद्धसित अनेक प्रश्न सोधिरहेका थिए ।

बुद्ध पनि यथोचित उत्तर दिएर उनीहरूको जिज्ञासा शान्त बनाइरहेका थिए । यसै क्रममा एक शिष्यले उनलाई सोधे– भगवान्, तपाईंले आजसम्म हामीलाई धेरै कुराको ज्ञान दिएर बाटो देखाउनुभएको छ ।

हामी पनि हजुरजस्तो महान् गुरुका शिष्य बन्न पाउँदा धन्य भएका छौँ । तर, हजुरले आजसम्म हामीलाई मानिसको मृत्युपश्चात के हुन्छ भन्ने विषयमा केही पनि बताउनुभएको छैन । यस विषयमा केही जान्न पाए हुन्थ्यो प्रभु ! उनको जिज्ञासा सुनेर बुद्ध मन्दमन्द मुस्कुराए अनि एकैछिन मौन रहे ।

एकछिनपछि गम्भीरतापूर्वक उनले भने– हो त है, मैले यसबारे तिमीहरूलाई केही पनि बताएको छैन । ठिकै छ, आज म तिमीहरूलाई यसबारे बताउँछु । तर, यसबारे बताउनुअघि तिमी मेरो एक प्रश्नको जवाफ देऊ है ! उनका शिष्यले भने– आज्ञा होस् प्रभु !

बुद्धले भने– एकजना मानिस सुनसान जंगलको बाटो कतै जाँदै थियो । अचानक कतैबाट आएर एउटा विषालु वाण उसको शरीरमा घुस्यो ।

यस्तो अवस्थामा उसले तत्काल के गर्नु उचित हुन्छ ? पहिले शरीरमा घुसेको वाण हटाउनु ठीक हुन्छ कि त्यो वाण कसले चलाएको थियो, कताबाट आएको थियो र कसलाई लक्ष्य गरेर चलाइएको थियो, त्यो पत्ता लगाउनु उचित हुन्छ ? प्रश्नकर्ता शिष्यले जवाफ दिए– उसले सबैभन्दा पहिले शरीरमा घुसेको वाण निकाल्नुपर्छ ।

अन्यथा वाणको विष पूरै शरीरमा फैलिएर उसको ज्यानै पनि जान सक्छ । शिष्यको जवाफ सुनेपछि मन्द मुस्कुराउँदै बुद्धले भने– तिमीले बिल्कुलै ठीक भन्यौ । अब तिमी मलाई अर्को एउटा प्रश्नको जवाफ देऊ ।

हामीले सबैभन्दा पहिले यस जीवनका दुःखको निवारणको उपाय खोज्नु ठीक हुन्छ कि मृत्युपछि के हुन्छ भनेर टाउको दुखाउनु ठीक होला ? बुद्धको प्रश्न सुनेपछि शिष्यको जिज्ञासा शान्त भयो ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित