दुई गुरु : चोर र कुकुर

एकजना सन्तसँग उनका शिष्य सोध्छन्, ‘गुरुवर ! हजुरका चाहिँ गुरु को हुनुहुन्छ ?’ सन्त जवाफ दिन्छन्, ‘हुन त मेरा धेरै गुरु छन्, तर म तिमीहरूलाई मेरा खास दुई गुरुका बारेमा बताउँछु ।’ उनले भने, ‘मेरो पहिलो गुरु एउटा चोर थियो ।

एकपटक म एक अन्जान सहरमा रनभुलमा परेर यताउता भाैँतारिरहेको थिएँ । सो बखत मलाई एकजना चोरले आफ्नो घरमा शरण दियो । ऊ प्रत्येक रात चोरी गर्न जान्थ्यो । जब ऊ फर्किएर आउँथ्यो, म उसलाई आजचाहिँ के हात पार्‍यौ त भनेर सोध्थेँ ।

यद्यपि उसलाई महिनाभर नै सफलता मिलिरहेको थिएन । तर, हरेकपटक ऊ आज त केही हात पार्न सकिएन, तर म फेरि भोलि पनि प्रयास गर्नेछु । परमेश्वरको कृपा पक्का हुनेछ ।’ सन्त अगाडि भन्छन्, ‘जीवनमा मेरा यी सारा ध्यान, पूजापाठ र साधनापछि पनि भगवान् नमिल्दा यी सबै कुरा छोडिदिऊँ कि भन्ने लाग्दा यही चोरको ‘म फेरि भोलि प्रयास गर्नेछु र भगवान्को इच्छाले यो अवश्यक हुनेछ’ भन्ने भनाइ स्मरणमा आउँथ्यो ।’

सन्तले आफ्नो दोस्रो गुरु एउटा कुकुर भएको बताए । ‘त्यो कुकुर निकै तिर्खाएको थियो, तर जसै ऊ नदीमा पानी पिउन जान्थ्यो । पानीमा आफ्नो छाया देख्दा अर्काे कुकुर रहेछ भन्ने ठान्थ्यो र तर्सिन्थ्यो अनि भाग्थ्यो । तर, उसको प्यास यति प्रबल थियो कि ऊ अन्ततः आफ्नो सारा डरलाई पन्छाएर नदीमा हाम्फाल्न पुग्यो ।

जसै ऊ नदीमा हामफाल्यो उसलाई भयभीत बनाउने आफ्नो डरलाग्दो छाया पनि गायब भयो । उसको प्यास पनि मेटियो,’ सन्तले भने, ‘मलाई त्यो कुकुरबाट आफ्नो प्यासलाई गहन बनाउनुपर्छ र डरका बाबजुद पनि लक्ष्यमा फालहाल्नुपर्छ भन्ने शिक्षा मिल्यो ।’

हाम्रो मन र मस्तिष्क खुला हुनुपर्छ, ज्ञान कहीँबाट पनि प्राप्त हुन सक्छ । ध्यान रहोस्, लक्ष्यका लागि ज्ञानसँगै काम अर्थात् उक्त ज्ञानको प्रयोग अनिवार्य हुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित