बच्चालाई भावनात्मक रूपमा कसरी बलियो बनाउने ?

अभिभावक बन्नु प्राकृतिक नियम हो, तर अभिभावकत्व निभाउनु सबैभन्दा ठुलो चूनौती हो । अभिभावकले आफ्ना अनगन्ती खुसी, इच्छा, चाहना तथा समस्याहरूलाई व्यवस्थापन गर्दै बालबालिकाको विकास र सर्वोत्तम हितको लागि सधैँ प्रयासरत रहनुपर्छ ।

हरेक अभिभावकको सामु एउटा यस्तो समय आउँछ जुनबेला आफ्ना बालबालिकालाई कसरी भावनात्मक रुपमा बलियो बनाउने । यदि बच्चा भावनात्मक रूपमा बलियो छ भने उसले हरेक कठिनाइलाई सजिलै पार गर्न सक्छ ।

आजभोलि बालबालिकामा पनि प्रतिस्पर्धा निकै बढेको छ । बच्चालाई शारीरिक र भावनात्मक रूपमा बलियो बनाउनु अभिभावकको दायित्व हो ।

बच्चा भावनात्मक रूपमा बलियो हुनु धेरै महत्त्वपूर्ण छ । किनकि जो बच्चा भावनात्मक रूपमा बलियो हुन्छ, त्यस्तो बच्चा समस्याहरुको सामना गर्न सक्षम हुन्छ ।

बच्चाले धेरै कुरा अभिभावकबाट सिक्ने हुदा अभिभावक आफैं पनि भावनात्मक रूपमा बलियो हुनुपर्छ। बच्चालाई बाल्यकालदेखि नै शारीरिक र भावनात्मक रूपमा बलियो बनाउनु अति आवश्यक हन्छ ।

यदि बच्चा भावनात्मक रूपमा बलियो हुँदैनन्, भने उनीहरूले सानो काम बिग्रीदा पनि ठूलै गल्ती गरे भन्ने ठान्छन् । उसो भए बच्चालाई भावनात्मक रूपमा बलियो कसरी बनाउने त ?

बच्चालाई गाली नगर्ने

बच्चालाई सानो-सानो कुरामा गाली गर्नु हुदैन । सानातिना गल्तीका लागि बच्चालाई गाली गर्नु भयो भने त्यसले बच्चालाई भावनात्मक रूपमा कमजोर बनाउँछ र उसको आत्मविश्वास घट्न थाल्छ । बच्चाले कुनै काम गर्न मान्दैन भने प्रेमपूर्वक सम्झाइबुझाइ गर्नुपर्छ ।

सकारात्मक सोचको विकास गर्न

बच्चाहरूमा सकारात्मक सोचको विकास गर्नु पनि महत्त्वपूर्ण हुन्छ । लगनशीलता र गल्तीबाट सिक्ने क्षमतालाई बढाउने र सकारात्मक चुनौतीहरूलाई स्वीकार गर्ने मानसिकता विकास गर्न सहयोग गर्ने, बालबालिकाहरूले लचिलोपन र अवरोधहरूबाट पुनः प्राप्ति गर्ने क्षमता विकास गरे हरेक चुनौतीलाई पार गर्ने उपाय निकाल्ने प्रयास आफै गर्छन ।

समस्या समाधान गर्ने सीप सिकाउने

बच्चाहरुको जीवन पनी चुनौतीहरूले भरिएको हुन्छ । त्यसैले बच्चालाई ती चुनौतीसँग कसरी लड्ने भनेर सिकाउनु आवश्यक छ ।

उनीहरूलाई निर्णय प्रक्रियामा समावेश गराएर समस्या समाधान गर्ने सीप विकास गर्न मद्दत गर्नुपर्छ र दैनिक समस्याको समाधान गर्न प्रोत्साहन दिनुपर्छ ।

बच्चालाई समयको महत्त्व सिकाउने

समय बित्दै जाँदा प्रविधिमा तीव्र परिवर्तन भइरहेको छ । साथै बालबालिकाको व्यवहार र आत्मविश्वासमा पनि परिवर्तन देखिएको छ । आजको समयमा बालबालिकाले सानैदेखि धेरै कुरा सिक्छन् ।

यस्तो अवस्थामा बच्चालाई सही समयमा सही काम गर्न प्रोत्साहन दिनुपर्छ । उनीहरूलाई समयको महत्त्व बुझाउनुपर्छ । यसले बच्चामा आत्मविश्वास पैदा गर्नेछ ।

बच्चाको कुरा सुने

हरेक चोटि बच्चालाई आफ्नो मात्र कुरा सुनाउने नगर्नुस् । यसले बच्चाहरु एकहोरो हुन पनि सक्छ । परिवारमा बच्चाहरुको आत्मीयता बढाउन कहिलेकाही उनीहरुको पनि कुरा सुन्ने गर्नुपर्छ।

प्रेमको भाव सिकाउने

माया, ममता र स्नेहले सबैको मन सजिलै जित्न सकिन्छ । बच्चाहरुको कोमल हृदयलाई जित्नको लागि जहिले पनि स्नेही भावले कुरा गर्नुपर्छ। यसले बच्चाहरु सधै खुशी हुन्छ र भावनात्मक रूपमा बलियो हुन्छ ।

सम्बन्धको महत्त्व बुझाउने

आफ्ना बच्चालाई परिवार र साथीहरूसँग राम्रो सम्बन्ध विकास गर्न प्रोत्साहन गर्नुपर्छ । बच्चालाई अरूसँग राम्रो सम्बन्ध बनाउँदाका फाइदा बताउनुपर्छ ।

परिवार, साथीभाइ र सहकर्मीको सहयोगले बच्चाले हरेक कठिन परिस्थितिबाट सजिलै बाहिर निस्कन सक्छन् । बलियो, सकारात्मक सम्बन्ध निर्माण गर्न भावनात्मक बल आधारशीला हो ।

अनुशासन सिकाउने

बच्चालाई अनुशासनमा बस्न सिकाउनु पर्छ जस्तै कि समयमा उठ्ने, खाना खाने र आफ्नो काम सिकाउने । जस्ले गर्दा बच्चा आफनो काम आफै र समयमा गर्ने बानीको विकास हुन्छ र शारीरिक र भावनात्मक रूपमा बलियो बनाउनु मदत हुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित