बालबालिकामा किन हुन्छ जन्मजात मुटुरोग ? के छ उपचार ?

गर्भावस्थामा मुटु विकसित हुने क्रममा मुटुको भित्री आकृति तथा रक्तनलीमा समस्या भई जन्मिएको अवस्थालाई जन्मजात मुटुरोग भनिन्छ ।

चिकित्सकीय भाषामा यस्तो समस्यालाई ‘कन्जेनाइटल हार्ट डिफेक्ट’ भनिन्छ । शरीरका विभिन्न अंगमा जन्मजात तवरमा हुने विकृतिमध्ये सबैभन्दा बढी मुटुमा हुने गरेको पाइन्छ । प्रत्येक एक हजार जीवित नवजात शिशुमध्ये ८ देखि १० जनामा जन्मजात मुटुरोग हुने विभिन्न अध्ययनले देखाएका छन् ।

कतिपय बालबालिकामा यो समस्या जन्मेको केही समयपछि हुनसक्छ भने कतिपयलाई उमेर बढ्दै गएपछि पनि समस्या हुने जोखिम हुन्छ ।

जन्मजात मुटुरोगका प्रकार

जन्मजात मुटुरोग सामान्यतया दुई किसिमका हुन्छन् ।

  • मुटुको माथिल्लो दुई कोठाबीचको भित्तामा प्वाल हुनु
  • पल्मोनरी भल्ब साँघुरिनु (मुटुको ठूलो रक्तनली र फोक्सोको रक्तनलीबीचको बाटो)
  • जन्मजात मुटुरोगले बच्चा निलो हुने तथा निलो नहुने गरी पनि दुई भागमा विभाजन गर्न सकिन्छ ।
  • नीलो नहुने रोगमा मुटुको माथिल्लो र तल्लो कोठाबीचका पर्दामा प्वाल पर्ने, दुई ठूला मुख्य धमनीको बीच अस्वाभाविक रक्तप्रवाह हुने, रक्तनलीहरु वा भल्बहरु खुम्चिने समस्या हुन्छन् । यीमध्ये सबैभन्दा बढी देखिने समस्यामा मुटुको तल्लो कोठाबीचका पर्दामा प्वाल पर्ने हो ।
  • नीलो हुने रोगहरु अन्य जन्मजात समस्याभन्दा जटिल किसिमको हुन्छ । जसमध्ये एक हो, ‘टेट्रालोजी अफ फेलोट’ । आमाको पाठेघरमा शिशुको मुटुको विकास राम्रोसँग हुन नसक्दा यो समस्या देखिन्छ । जसकारण शरीरमा अक्सिजनयुक्त रगतको प्रवाह बन्द हुन्छ । र, रगतबाट शरीरलाई पोषक तत्व र अक्सिजन प्राप्त हुन कठिन हुन्छ । मुटुले राम्ररी काम नगरेमा यो प्रक्रिया पूरा हुन सक्दैन । यद्यपि यो जन्मजात समस्या दुर्लभ छ । यसले मुटु फेल पनि गराउन सक्छ ।

कारण

जन्मजात मुटुरोगको कारण अहिलेसम्म १० प्रतिशत मात्र पत्ता लागेको छ । र, अन्य ९० प्रतिशतमा यस्ता समस्या पत्ता नलाग्दा उपचारमा चुनौती थपिएको छ ।

१० प्रतिशतमा जोखिम कारकहरुमा वंशाणुगत कारण, गर्भावस्थामा मद्यपान, धुम्रपान, विभिन्न औषधिको सेवन, गर्भावस्थामा हुने मधुमेह र भाइरल संक्रमणलाई लिन सकिन्छ ।

लक्षण

जन्मजात मुटुरोगका प्रमुख लक्षणमा उमेरअनुसार तौल नबढ्नु, बारम्बार छातीको संक्रमण हुनु, राम्रोसँग आमाको दूध चुस्न नसक्नु, दूध खुवाइरहेको बेलामा निधारमा पसिना आउनु, सोही उमेर समूहको बच्चामा भन्दा मुटुको चाल बढी हुनु, मुखको भित्री भाग निलो हुनु वा जन्मिंदै निलो भएर जन्मिनु लगायत लक्षण देखिन्छ ।

पहिचान

यस्ता लक्षण चिन्ह देखिए बाल मुटुरोग विशेषज्ञले छातीको एक्सरे, नवजात शिशुको मुटुको भिडियो एक्सरे (इकोकार्डियोग्राफी) तथा ईसीजी, गर्भभित्र छँदै शिशुको मुटुको भिडियो एक्सरे (फिटल इकोकार्डियोग्राफी)बाट जन्मजात मुटुरोग पत्ता लगाउन सकिन्छ ।

उपचार

जन्मजात मुटुरोगको उपचार बिरामीको अवस्था र उमेरमा भर पर्छ । साना तथा सामान्य मुटुका प्वालहरु आफैं टालिने किसिमका हुन्छन् । नटालिएको अवस्थामा शल्यक्रिया तथा बिना चिरफार गरी पनि मुटुको प्वाल टाल्न सकिन्छ ।

आजभोलि आफैं नटालिने ठूलाखाले प्वालहरुलाई छाती नचिरिकन क्याथेटरको माध्यमबाट जाली राखी टाल्न सकिन्छ । जसलाई ‘डिभाइस क्लोजर’ भनिन्छ ।

साथै, जन्मजात साँघुरिएका भल्बहरुलाई पनि क्याथेटरको माध्यमबाट बेलुनले खोल्न सकिन्छ, जसलाई ‘बलुन भल्भोटोमी’ भनिन्छ । क्याथेटरको माध्यमबाट उपचार सम्भव नभएका जन्मजात मुटुरोगको उपचारका लागि छाती चिरी शल्यक्रिया गर्ने समय निर्धारण गरिन्छ ।

कतिपय निलो हुने जन्मजात मुटुरोगमा दुईदेखि तीनपटकसम्म पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ । उपचारपछि जन्मजात मुटुरोगका बिरामी नियमित चिकित्सकको फलोअपमा बस्नुपर्छ । साथै, चिकित्सकको सिफरिसअनुसार नियमित औषधिको सेवन गर्नुपर्ने हुन्छ ।

रोकथाम

गर्भावस्थामा मद्यपान, धुम्रपान गर्नुहुँदैन, जथाभावी औषधि खानुहुँदैन । त्यस्तै, उच्च रक्तचाप तथा मधुमेहको नियन्त्रण गर्ने र गर्भावस्थामै शिशुको मुटुको भिडियो एक्सरे (फिटल इकोकार्डियोग्राफी) गर्न सके धेरै हदसम्म जन्मजात मुटुरोग कम गर्न सकिन्छ ।

जन्मजात मुटुरोग वंशाणुगत पनि हुने भएकाले आफ्नो परिवारमा जन्मजात मुटुरोग भएका व्यक्तिले आफ्ना बालबालिकाको एकपटक मुटु जाँच गराउँदा यसको जोखिमबाट बच्न सकिन्छ ।

मुटुसम्बन्धी रोगहरु तीव्र गतिमा बढिरहेका छन् । उमेर बढेसँगै देखिने मुटुरोगबारे त धेरै जानकार छन् । तर बच्चामा देखिने मुटुरोगबारे कमै जागरुक भएको पाइन्छ ।

जसकारण यसको उपचार सम्भव भए पनि जनचेतनाको अभावका कारण मुटुरोगको लक्षण पहिचान गर्न नसक्दा कलिलै उमेरमा बालबालिकाको ज्यान गुम्छ ।

त्यसैले मुटुरोगसम्बन्धी जनचेतना बढाउने उद्देश्यले विश्वभर हरेक वर्ष फेब्रुअरी ७ देखि १४ सम्म ‘जन्मजात मुटुरोग सचेतना सप्ताह’ मनाइन्छ । यो साताभर नै यसबारे जागरुकता बढाएर यसको रोकथाम तथा उपचार गराउनु अभियानको मुख्य उद्देश्य हो ।

लेखकको बारेमा

डा. कुलरत्न थापा
डा. कुलरत्न थापा
बाल मुटुरोग विशेषज्ञ डा. थापा काठमाडौंको शहीद गंगालाल अस्पतालको पेडियाट्रिक कार्डियोलोजी विभागमा कार्यरत छन् । त्यहाँका रजिस्ट्रारसमेत रहेका उनले पेडियाट्रिक (बालरोग) विषयमा एमडी गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित