औषधीय गुणले भरिपूर्ण लसुन

लसुनको स्वादबारे त धेरै बखान गर्नुपर्दैन । काँचो खाँदा यो पर्रर पिरो स्वादको हुन्छ । जब यसलाई दाल, तरकारीमा मिसाइन्छ स्वाद बदलिन्छ ।

मूलत: नेपाली भान्सामा लसुनको प्रयोग स्वादकै लागि गरिन्छ । यद्यपि यो औषधीय गुणले पनि भरिपूर्ण मानिन्छ । त्यसैले त प्राचीनकालदेखि औषधिकै रुपमा लसुनको प्रयोग हुँदै आएको पाइन्छ ।

लसुनलाई संस्कृतमा ‘रसोन’ भनिन्छ । किनभने धर्तीमा हुने ६ रस (पिरो, तीतो, नुनिलो, टर्रो, अमिलो, गुलियो) मध्ये लसुनमा पाँच रस हुन्छ । लसुनमा ‘अमिलो’ रस मात्र हुँदैन ।

‘रस उन’ अर्थात् एक रस कम भएकाले यसलाई ‘रसोन’ भनिएको हो । आयुर्वेदमा लसुनलाई दुखाइ कम गर्ने द्रव्यको वर्गमा राखिएको छ ।

लसुनको इतिहास

चीन र इजिप्टमा हजारौं वर्षअघिदेखि लसुनको उपयोग हुँदै आएको इतिहास छ । ईसापूर्व १३२५ मा मिश्रका सम्राट तुतांकखेमानको चिहानमा लसुन राखिएको थियो, लासलाई सुरक्षित राख्ने हेतुले ।

त्यसताका मिश्रका बासिन्दाहरु कसैको मृत्युपछि चिहानमा यसैगरी लसुन राख्थे । यस्तो मान्यता थियो कि मान्छे मृत्युपछि जब अर्को लोकमा पुग्छन् उनलाई रोगव्याधिले नसताओस् ।

यसैगरी लामो यात्रामा निस्किने सिपाहीहरुले पनि लसुन बोक्ने गर्थे, ताकि कुनै समस्या भएमा औषधिको रुपमा प्रयोग गर्न सकियोस् ।

मानिसहरुको बसाइँसराइसँगै लसुनको प्रयोगले व्यापकता पाउँदै गयो । ईसापूर्व छैटौं शताब्दीमा लसुनले चीन र भारतमा प्रवेश पाइसकेको इतिहासमा उल्लेख छ । त्यसबेला यसलाई उपचारका लागि मात्र प्रयोग गरिन्थ्यो । त्यसपछि क्रमशः लसुनको प्रयोग उपचारमा मात्र नभएर दैनिक जीवनमा हुन थाल्यो ।

पौराणिक कथामा पनि लसुनको महत्व उल्लेख गरिएको छ । कथाअनुसार भगवान इन्द्रसँग अमृत खोसेर पृथ्वीमा ल्याउँदा खसेका अमृतको थोपाबाट लसुनको उत्पति भयो ।

यी कथाहरुबाट के अनुमान गर्न सकिन्छ भने सदियौंदेखि लसुनलाई औषधीय वनस्पतिको रुपमा प्रयोग गरिन्थ्यो ।

के हुन्छ लसुनमा ?

मेडिकल रिसर्चअनुसार काँचो लसुनमा मुख्यत: एलिसिन भन्ने यौगिक पाइन्छ । यो त्यही तत्व हो, जसमा एन्टिब्याक्टेरियल (जीवाणुनाशक) र एन्टिफंगल (ढुसीनाशक) गुण हुन्छ ।

साथै लसुनमा फस्फोरस, जिंक, पोटासियम र म्याग्नेसियम जस्ता लवण पदार्थ पनि भरपुर हुन्छ । सल्फर पदार्थ हुने भएकाले लसुनको गन्ध तिख्खर हुन्छ ।

के गर्छ लसुनले ?

त्यसो त दाल–तरकारीमा लसुनको प्रयोग गरिरहेकै हुन्छ, जसबाट प्रत्यक्ष–परोक्ष लाभ मिलेको हुनसक्छ । त्यसबाहेक बिहान खाली पेटमा दुई–चार केस्रा लसुन खाँदा फाइदा गर्छ ।

लसुनमा भएको ‘एलिसिन’ तत्वले विभिन्न किसिमको संक्रमणबाट बचाउन सहयोग गर्छ । टाइफाइड, ज्वरो, एलर्जीको संक्रमण हुन दिंदैन ।

शरीरमा हुने दुखाइ कम गर्न पनि लसुन प्रयोग गरिन्छ । सुन्निएको वा दुखेको ठाउँमा लसुन राखेर तताएको तेलले मालिस गर्न सकिन्छ । काँचो लसुनमा एन्टिअक्सिडेन्ट सल्फहाइड्रिल तत्व पाइन्छ, जसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।

लसुनको नियमित प्रयोगले रक्तनलीमा जम्मा भएको खराब कोलेस्टेरोल बाहिर निकाल्छ । यसले मुटुमा हुनसक्ने जोखिम कम गर्छ ।

लसुन उचित मात्रामा सेवन गर्दा रक्तनलीमाथि हुने दबाब कम हुन्छ । रक्तचाप नियमित गराउन पनि लसुन उपयोगी मानिन्छ । कतिपय छालाको समस्यामा लसुनको प्रयोग गर्न सकिन्छ ।

कसले खानु हुँदैन ?

लसुनको एलर्जी, रगतको कमी र बिरामीले रगत पातलो बनाउने औषधि सेवन गरिरहेका छन् भने पनि लसुनको सेवन नगर्दा उपयुक्त हुन्छ । किनकि यस्तो अवस्थामा लसुन सेवन गरेमा अन्य समस्या बढ्न सक्छ । अल्सर भएमा पनि यसको सेवन उचित हुन्छ ।

औषधिको रुपमा लसुन प्रयोग गरिरहँदा कुनै पनि औषधि खाइरहेका वा उपचार गराइरहेकाले चिकित्सकको परामर्श लिनुपर्छ ।

लेखकको बारेमा

डा. अमृत भण्डारी
डा. अमृत भण्डारी
आयुर्वेदिक चिकित्सक डा. भण्डारी सहारा आयुर्वेद एण्ड थेरापी सेन्टर प्रालि गोंगबु, काठमाडौंमा निर्देशकको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित