३२ वर्षीया गौरी शर्मालाई हात तथा खुट्टामा दाद आएको छ । १ वर्षकी अंशिकाको पनि टाउकोमा दाद आएको छ । यस्तो समस्या अहिले धेरैलाई हुने गर्छ ।
गर्मी महिना सुरु भएपछि बढ्दो तापक्रम र ह्युमिडिटीका कारणले दादको समस्या उत्पन्न हुने गर्छ । दाद छालामा आउने एक प्रकारको रोग हो । यो सिक्का (पैसा) जस्तो गोलो आकारको र बीचको भाग खाली जस्तो हुन्छ । यसलाई अंग्रेजीमा रिंगवर्म पनि भनिन्छ ।
दाद आउने कारण
दाद एक किसिमको किटाणु (फंगस) को संक्रमणले हुने गर्छ । दाद आएका मानिसले लगाएको पहिरन लगाएमा, रुमाल तथा साबुनको प्रयोग गरेमा पनि यो रोग सर्नेगर्छ ।
रोग प्रतिरोधक क्षमता कम भएका, दीर्घ रोग लागेका तथा पसिना धेरै आउने मानिसलाई पनि दाद आउने संभावना रहन्छ ।
दादका प्रकार
टिनिया क्यापाइटिस टाउकोमा हुने फंगसको संक्रमण टिनिया क्यापाइटिस हो । यस्तो हुँदा टाउकोको केश झर्ने, पाकेको जस्तो घाउ आउने गर्छ । यो ठूला मानिसको तुलनामा बालबालिकामा बढी मात्रामा आउँछ ।
टिनिया फेसिआइ यस्तो किसिमको दाद अनुहारमा आउने गर्छ । यो गोलो आकारको र अधिक चिलाउने किसिमको हुन्छ ।
टिनिया कर्पोरिस यो सबभन्दा बढी मात्रामा देखिने दाद हो । यो शरीर, हात तथा तिघ्रामा आउँछ । यो पनि गोलो आकारको र चिलाउने किसिमको हुन्छ ।
टिनिया क्रुरिस यो दाद काखी तथा काँपमा आउने गर्छ । गोलो आकारको र चिलाउने यो दाद पसिना धेरै जम्मा हुने भागमा आउँछ ।
टिनिया पेडिस यो दाद खुट्टामा आउँछ । गोलो आकारको हुने यो दाद अधिक चिलाउँछ । खुट्टामा एलर्जी जस्तो कत्ला जस्ता घाउ वा पानी फोका जस्ता घाउ पनि देखिन्छन् ।
ओनाइकोमाइकोसिस यो नङमा आउने गर्छ । यो अवस्थामा नङ बाक्लो पहेंलो हुने तथा सजिलै टुक्रने गर्छ ।
उपचार
दादको उपचार रोगको अवस्था, दाद आएको ठाउँ, उमेर र अन्य कुनै रोग लागेको अवस्था अनुसार फरक हुन्छ । यसमा लगाउने मल्हम तथा खाने औषधी हुन्छन् ।
मल्हम दिनमा दुईपटक बिहान बेलुकी ४ देखि ६ हप्ता लगाउनुपर्ने हुन्छ । यसैगरी खाने औषधी दिनमा २ पटक २ देखि ४ हप्तासम्म खानुपर्छ । खाने तथा लगाउने औषधी चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।
बच्न के गर्ने ?
- गर्मी मौसममा सम्भव भएसम्म प्रत्येक दिन दुई पटक नुहाउनु पर्छ । नुहाउनका लागि साबुन भन्दा सावर जेल प्रयोग गर्नु उपयुक्त हुन्छ ।
- नुहाएपछि शरीर सुख्खा हुने गरि पुछ्नुपर्छ । काखी तथा काँछमा पाउडरको प्रयोग गर्नुपर्छ ।
- भित्री पहिरन, मोजा हरेक दिन परिवर्तन गर्नु पर्छ । भित्री तथा बाहिरी पहिरन भिजेको छ भने लगाउनु हुँदैन । राम्ररी सुकेका पहिरन मात्र लगाउनुपर्छ । अरुका पहिरन कदापि लगाउनु हुँदैन ।
- नङ काट्दा कुनै एउटा औंलामा दाद आएको छ भने त्यो नङ काटेपछि नेलकटर स्पिरिटले सफा गरेर मात्र अर्को नङ काट्नुपर्छ ।
- बजारमा पाइने स्टेरोइडयुक्त औषधी चिकित्सकको सल्लाह विना खाने तथा लगाउने गर्नुहुँदैन ।
- चिकित्सकले दिएको औषधी पूरै डोजको सेवन गर्ने तथा लगाउने गर्नुपर्छ । निको भयो भनेर बीचमा छोड्नु हुँदैन ।
- खानाले फंगस वृद्धिमा फरक नपार्ने हुनाले दाद आएका मानिसले खाना बार्नु पर्दैन । तर पनि स्वस्थ र सन्तुलित खाना भने खानुपर्छ ।