डिप्रेशन के हो ? यसबाट कसरी बच्ने ?

दुःख, पीडाको महसूस गर्नु, दैनिक गतिविधिमा रुचि नहुनु अथवा खुसी नमिल्नु, यस्तो त मानिसलाई कहिलेकाहिँ हुन सक्छ । तर, यस्ता लक्षण धेरै समयसम्म रहिरहेमा तपाईंलाई डिप्रेशनले शिकार बनाएको हुन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार विश्वभर डिप्रेशन अधिकांशमा हुने रोग हो । विश्वका करीब आधा जनसंख्या डिप्रेशनबाट प्रभावित भएको डब्ल्यूएचओको अनुमान छ ।

डिप्रेशन एक मानसिक स्वास्थ्य विकार हो । डिप्रेशनबाट ग्रस्त मानिसमा कुनै पनि कुराप्रति लगाव हुँदैन । उनीहरु प्रायः उदास देखिन्छन् ।

केही दिनको लागि मात्र नभई यो समस्याले मानिसलाई लामो समयसम्म असर पुर्याउन सक्छ । डिप्रेशनको औसत समय ६ देखि ८ महिनाको हुन्छ ।

मानसिक स्थितिमा उतारचढाव आउनु र डिप्रेशन अलग कुरा हुन् । मानसिक स्थितिमा उतारचढाव आउनु त सामान्य र स्वस्थ मानिसले पनि अनुभव गरिरहेका हुन्छन् ।

दैनिक जीवनमा आइपर्ने बाधा, अड्चन, चुनौती, अप्ठ्याराहरुप्रति हाम्रो अस्थायी भावनात्मक प्रतिक्रियाले डिप्रेशनलाई जन्म दिन्छ । कोही नजिकको व्यक्तिको मृत्युमा दुःखी हुनु डिप्रेशनको लक्षण होइन, तर त्यही कारणले लामो समयसम्म दुःखी रह्यौं भने त्यो डिप्रेशन हो ।

डिप्रेशनका लक्षण

  • उदास रहनु
  • शक्तिहीन भएको महसूस हुनु
  • ध्यान केन्द्रित गर्न नसक्नु
  • दुःखी हुनु
  • रिस
  • डर
  • आनन्ददायक गतिविधिमा रमाइलो नलाग्नु
  • निराश हुनु
  • चिन्तित रहनु
  • धेरै निदाउनु अथवा पटक्कै निद्रा नलाग्नु
  • अस्वस्थ आहार गर्न मन लाग्नु
  • अरुबाट टाढा रहनु
  • स्पष्ट सोच र निर्णय गर्न नसक्नु
  • अपराध बोध हुनु
  • आफूलाई दुःख दिने विचार आउनु
  • टाउको अथवा मांसपेशीमा पीडा महसूस हुनु
  • जथाभावी औषधि र लागूपदार्थको सेवन गर्नु आदि ।

डिप्रेशनका कारण

  • दिमागी परिवर्तन :

केही मानिस दिमागी परिवर्तनका कारण पनि डिप्रेशनमा पर्न सक्छन् । मस्तिष्कको क्रियामा प्रभाव परेमा डिप्रेशनमा पर्ने सम्भावना रहन्छ ।

मस्तिष्कमा न्युरोट्रान्मिटर, सेरोटोनिन, डोपामाइन अथवा नोरेपिनेफ्रिनले खुसी र आनन्दको भावनालाई प्रभावित गर्छन् ।

यी केमिकलको असन्तुलनले मानिस डिप्रेशनको शिकार बन्न सक्छन् । ट्रमा, हार्मोनमा असन्तुलन आदिले उक्त केमिकलको सन्तुलन बिगार्न सक्छ र मानिसलाई डिप्रेशनमा पुर्याउन सक्छ ।

एन्टिडिप्रेन्टेन्ट्सले न्युरोट्रान्समिटरलाई सन्तुलित बनाउने काम गर्छ । विशेष गरी यसले सेरोटोनिनलाई सन्तुलित राख्छ । न्युरोट्रान्समिटर सन्तुलनभन्दा बाहिर किन हुन्छ र यसको डिप्रेशनमा कस्तो भूमिका रहन्छ भन्ने चाहिँ अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

  • हार्मोन परिवर्तन :

हार्मोन उत्पादन तथा हार्मोनको सक्रियतामा परिवर्तन आएमा पनि मानिस डिप्रेशनको शिकार हुन सक्छ । हार्मोनमा पनि रजोनिवृत्ति, प्रसव, थाइराइ आदि सम्बन्धी समस्या आएमा मानिस डिप्रेशनको रोगी हुन सक्छ ।

बच्चा जन्माएपछि महिलामा देखिने शारीरिक, भावनात्मक तथा व्यावहारिक परिवर्तनका कारण आमामा डिप्रेशनको समस्या आउन सक्छ । यसलाई पोस्टपार्टम भनिन्छ ।

यद्यपि, सुत्केरी भइसकेपछि हार्मोनमा आएको परिवर्तनका कारण मानिस संवेदनशील हुनु सामान्य नै हो, तथापि, पोस्टपार्टम डिप्रेशनको एक गम्भीर कारण हुन सक्छ ।

  • मौसममा परिवर्तन : 

चिसो बढ्दै गएपछि र दिन छोटो हुँदै गएपछि मानिसले आफूलाई सुस्त, थाकेको महसूस गर्न थाल्छन् र काममा रुचि नहुन सक्छ ।

यो समस्या मौसमको प्रभावले आउने विकारका कारण यस्तो समस्या आउँछ । यो जाडोको मौसम हट्दै गएपछि यो समस्या पनि हट्दै जान्छ ।

  • जीवनमा ठूलो दुर्घटना हुनु :

कुनै मानसिक आघात, जीवनमा ठूलो परिवर्तन हुनु अथवा जीवनमा गर्नुपर्ने ठूलाठूला संघर्षले पनि मानिसलाई डिप्रेशनको रोगी बनाउन सक्छ ।

आफ्नो प्रिय मानिससँग छुट्टिनु, कामबाट निकालिनु, ठूलो मात्रामा धनहानि हुनु आदि समस्याले मानिसमा डिप्रेशन उत्पन्न गर्न सक्छ ।

जीवनमा कुनै गम्भीर परिस्थितिबाट पार भएपछि पनि मानिस डिप्रेशनमा पर्न सक्छ । युद्धबाट फर्केको सैनिक, दुर्घटनामा परेको व्यक्ति, आफूले चाहेको व्यक्तिबाट छुटेको व्यक्ति डिप्रेशनमा पर्ने सम्भावना बढी रहन्छ ।

बच्ने उपाय

  • आहार :

खाद्य पदार्थले हामीलाई खुशी राख्ने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ । त्यसैले डिप्रेशनबाट बच्न अथवा उत्रिन ट्रिप्टोफ्यान, ओमेगा ३ फ्याटी एसिडले युक्त आहार जस्तै, अण्डा, बेसार, फर्सीको बियाँ, कुरिलो आदि खानु राम्रो हुन्छ ।

यिनले सेरोटिनको स्तर बढाउन सहयोग गर्छन् । बदाम, खाजु र ग्रीन टी नियमित बिहान खाने हो भने तनाव जस्तो समस्याबाट छुटकारा मिल्छ ।

आफ्नो आहारमा भिटामिन र म्याग्नेसियम पनि मिसाउनु आवश्यक छ । ताजा फल र तरकारी सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हुन्छ । पानी धेरै मात्रामा पिउनुपर्छ भने पच्न सजिलो हुने खानामात्र खानुपर्छ ।

क्याफिन, निकोटिनले युक्त पदार्थ, मदिरा, फास्टफुड जस्तै, चाउचाउ, कुरकुरे आदिबाट टाढा रहनु राम्रो हुन्छ । त्यस्तै, नुनले प्रेसर र चिनीले सुगर बढाउने भएकाले नुन र चिनीको पनि कम प्रयोग गर्नुपर्छ ।

  • व्यायाम, योग र ध्यान :

हलासन, पश्चिमोत्तमासन, सर्वांगासन, शवासन जस्ता योग र ध्यान गर्नाले मस्तिष्क स्थिर रहन सक्छ ।

त्यस्तै, एकान्तमा उदास रहनुभन्दा शारीरिक व्यायाम गर्ने, साइकलिङ, पौडी, जगिङ आदि व्यायाम गर्ने, खुला हावामा डुल्ने जस्ता क्रियाकलापले मस्तिष्क कुनै विषयमा केन्द्रित भइरहन्छ र डिप्रेशनबाट छुटकारा पाउन सकिन्छ ।

  • पवित्र शास्त्र :

विश्वका अधिकांश व्यक्तिको कुनै न कुनै धर्मप्रति रुचि हुन्छ । आफ्नो इच्छाअनुसार गीता, बाइबल, कुरान, त्रिपिटक आदि कुनै पनि पवित्र ग्रन्थको अध्ययन गर्नाले आध्यात्मिक विचारको सम्प्रेषण हुन्छ ।

यस्ता पुस्तकले सकारात्मक विचारप्रति प्रोत्साहित गर्छन् । सकारात्मक सोच भएका पुस्तकको अध्ययन गर्नाले मनलाई शान्ति मिल्छ ।

  • मधुर संगीत :

आफ्नो वरिपरिको वातावरण आनन्दमय बनाउन संगीत सुन्ने बानी गर्नुपर्छ । तर, उदास, दुःखले भरिएको गीत भने सुन्नुहुँदैन ।

सुमधुर संगीतले शान्ति प्रदान गर्छ र एक किसिमको रोमाञ्च उत्पन्न गरिरहन्छ । यसले मस्तिष्कलाई पीडा, दुःखबाट टाढा राख्न सहयोग गर्छ ।

  • छिटो उठ्नु र छिटै सुत्नु :

सूर्योदयसँगै उठ्नु र राति छिटै सुत्नु मानसिक स्वास्थ्यको दृष्टिले निकै फाइदाकारी छ । यसले निद्रा पूरा हुन्छ र मस्तिष्कले विश्राम पाउँछ । समयमै उठ्नाले मस्तिष्क ताजा रहन्छ ।

अचेल राति अबेरसम्म मानिसहरु ल्यापटप, मोबाइल, टिभीमा व्यस्त हुन्छन् । यसले निद्रा पनि पूरा हुँदैन र मस्तिष्कले विश्राम पाउँदैन । अतः राति यस्ता ग्याजेट्सलाई छोडेर विश्राम गर्नु नै उपयुक्त हुन्छ ।

  • आफ्ना सोख पूरा गर्नु :

साथीभाइसँग भेट्नु, कतै घुम्न जानु, सपिङ गर्नु, हाइकिङ, बन्जीजम्प, प्याराग्लाइडिङ आदि मानिसको सोख हुन सक्छ । यस्ता सोख पूरा गर्नाले एक आत्मविश्वास बढ्छ र खुसी पनि मिल्छ ।

आफ्नो मनमा नकारात्मक भावनालाई आउन नदिई सकारात्मक भाव र विचारले भर्नुपर्छ । यसो गरेमा डिप्रेशनबाट बच्न सकिन्छ ।

डिप्रेशनमा परिसकेपछि मात्र चिकित्सकको सल्लाह लिनु, औषधोपचार गर्नुभन्दा पहिले नै सजग हुनु जरुरी छ । अतः समयसमयमा चिकित्सकको परामर्श लिइराख्नु राम्रो हुन्छ । यसले मानिसलाई कुनै पनि समस्याको सामना गर्ने हौसला पनि मिल्छ ।

डिप्रेशन जोकोहीलाई पनि हुन सक्छ र यसले जीवनमा ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले डिप्रेशनबाट बच्न आफूलाई यथासम्भव डर, चिन्ता, तनाव आदिबाट टाढा राख्नुपर्छ र मस्तिष्कलाई सधैं शान्त अनि आनन्दित राख्ने प्रयास गर्नुपर्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित