बच्चाको स्वास्थ्यका साथै उनीहरुलाई कस्तो वातावरणमा हुर्काउने भन्ने पनि महत्वपूर्ण विषय हो । राम्रो वृद्धि विकासको सहायताले मात्र बच्चाले जीवनमा राम्रो लक्ष्य प्राप्त गर्न सक्छ ।
कतिपय बच्चाहरु आफ्नो कुराहरु बाबाआमासँग साझा गर्छन् भने कतिपय बच्चाहरु अलि बढी नै शान्त स्वाभावका हुन्छन् । अब तपाईंले सोंच्नुपर्ने हुन्छ किन तपाईंको बच्चा तपाईंसँग धेरै बोल्न मन गर्दैन ? यसको पछाडि धेरै कारणहरु हुन सक्छन् ती मध्ये केही निम्न प्रकारका छन् ।
बच्चालाई जतिबेला पनि गाली गर्नु
यदी तपाईं आफ्नो बच्चालाई हरेक सानो सानो कुरामा गाली गर्नुहुन्छ भने उनीहरुले तपाईं प्रति नकारात्मक भावना राख्छन् । यस्तो अवस्थामा बच्चाहरु आमाबाबासँग बोल्न पनि डराउँछन् ।
तपाईं आफ्नो बच्चाले जे पनि भनेको मानोस् भन्ने चाहनुहुन्छ । जसका लागि तपाईं उसलाई गाली गर्ने धम्काउने गर्नुहुन्छ जसले गर्दा उनीहरुमा तपाईंप्रति नकारात्मक भावनाको विकास हुन्छ ।
बच्चाको लागि समय ननिकाल्नु
आफ्नो बच्चालाई समय दिन जरुरी छ । यदी तपाईंले यस्तो गर्नुभएन भने सुस्त सुस्त तपाईं बच्चा तपाईंसँग बोल्न छोड्छ ।
बच्चाले दिनभर धेरै नयाँ कुराहरु सिकिराखेका तथा सुनिराखेका हुन्छन् जो उनीहरु सुनाउन चाहन्छन् त्यतिबेला तपाईं उनीहरुसँग हुनुभएन भने बच्चा तपाईंसँग टाढा हुँदै जान्छन् ।
बच्चाको इच्छालाई नबुझ्नु
कैयौं आमाबाबाले आफ्नो रोजाईअनुसार बच्चाको विषयमा निर्णय लिने गर्दछन् । तर उनीहरुले बच्चाको विचार बुझ्न बिर्सन्छन् ।
तपाईंले आफ्नो बच्चाको इच्छाआकांक्षालाई पनि महत्व दिन जरुरी छ । यसरी उनीहरुको इच्छालाई पनि मध्यनजर गर्दै निर्णय लिँदा उनीहरु खुशी हुन्छन् र तपाईंप्रति सकारात्मक हुन्छन् ।
बच्चाको प्रश्नलाई बेवास्ता गर्नु
बच्चा जहिले नयाँ कुरा सिक्न उत्सुक हुन्छन् । उनीहरुलाई कुनै कुरा पनि नयाँ लाग्छ र त्यसको बारेमा सोध्ने गर्दछन् ।
उनीहरुले जस्तोसुकै प्रश्न गरे पनि तपाईंले त्यसको जवाफ दिनुपर्ने हुन्छ । तपाईंलाई त्यो प्रश्न बेकारको लागे पनि उनीहरुका लागि नयाँ कुरा हुन्छ त्यसैले उनीहरुले सोध्ने कुरामा बेवास्ता नगर्नुहोस् ।
यस्तो खालको व्यवहारमा तपाईंले परिवर्तन ल्याउनुभयो भने तपाईंको बच्चा तपाईंसँग नजिक हुन्छ र उसले सबै कुराहरु तपाईंलाई भन्न थाल्छ । उसको शारीरिक तथा मानसिक विकास पनि सकारात्मक वातावरणमा हुन्छ ।