निजी जीवनलाई किन राख्नुपर्छ गोप्य ?

काठमाडौँ । यो सामाजिक सञ्जालको युग हो । मान्छे जीवनका हरेक सानातिनादेखि ठूल्ठूला कुराहरुलाई सामाजिक सञ्जालमा बेपरवाह भएर शेयर गरिरहेका छन् ।

सामाजिक सञ्जालमार्फत हजारौँ मानिसहरुले तपाईँको जीवन, सम्बन्ध र जीवनशैलीलाई नियालिरहेका हुन्छन् । निजी जीवनलाई गोप्य राख्नुपर्छ भन्ने अवधारणा केहीलाई पुरातन वा वाहियात लाग्न सक्छ ।

तर साइकोलोजीको संसारबाट हेर्ने हो भने आफ्नो व्यक्तिगत जीवनका जानकारीहरु सुरक्षित गर्नुपर्ने केही बाध्यकारी कारण पनि छन् । मान्छेको मानसिक स्वास्थ्यको लागि पनि गोपनीयता कायम गर्नु अति नै जरुरी छ ।

सबैजना साथी हुन्नन्:

मनोवैज्ञानिक रूपमा भन्नु पर्दा मानव सामाजिक प्राणी हो । अर्को मान्छेसँग सम्बन्ध बनाउनेतर्फ हरेकमा प्राकृतिक झुकाव हुन्छ । तर हरेक सम्बन्धमा साँचो मित्रता हुन्न । अझ सामाजिक सञ्जालमा जोडिएका सबैलाई साँचो मित्र मान्नु त झन् ठूलो मूर्खता हो ।

आफ्नो जीवनको निजी कुराहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दा, अरूलाई बताउँदा यसको दुरुपयोग हुने वा गलत व्याख्या गर्ने स्थिति उत्पन्न हुन्छ ।

मित्रताको सूक्ष्मतालाई मनोवैज्ञानिक परिप्रेक्ष्यबाट हेर्दा पनि व्यक्तिगत सूचना बताउने मामिलामा सोच्नै पर्छ । कसैलाई केही भन्नु अघि ‘उनीहरुले थाहा पाउन जरुरी कुरा हो त ?’ भनेर आफैँसँग प्रश्न गर्नुस् ।

स्पष्टीकरण दिनुपर्ने/व्याख्या गर्नुपर्ने स्थितिबाट बचिन्छ

कतिपय कुराहरुमा चाँहि हामी समाजले के भन्ला भनेर सोच्छौँ । समाजले मलाई यस्तो गर्न अनुमति देला त ? वैधता देला कि नदेला भन्ने कुराले मानव मस्तिष्कलाई हरदम घेरिरहेको हुन्छ ।

केही कुरा चाँहि अरूले किन यस्तो गरेको ? भनेर प्रश्न सोध्नु अगाडि नै हामीले आफ्नो रोजाई वा आफूले चालेको कदमबारे व्याख्या गर्न भ्याइसक्छौँ वा स्पष्टीकरण दिइसक्छौँ ।

आफूले बताउन चाहेको कुरा अरूले राम्रोसँग नबुझ्दा वा गलत तरिकाले बुझ्दा हामीमा मानसिक असहजताको स्थिति उत्पन्न हुन्छ ।

आफ्नो जीवनलाई गोप्य राख्दा अनावश्यक व्याख्या र स्पष्टीकरणको झन्झटबाट बचिन्छ । बाह्य दबाब बिना आफ्नो इच्छाअनुसार काम गर्न सकिन्छ ।

मनको शान्ति

मनोवैज्ञानिक दृष्टिले हेर्ने हो भने गोपनीयता र मनको शान्तिबिच निकट सम्बन्ध छ । व्यक्तिगत जीवनका विवरणहरु सार्वजनिक गर्दा तनाव र एङ्गजायटीको स्तर बढ्छ ।

व्यक्तिगत सीमा निर्धारण गर्ने र सामाजिक सञ्जालहरुमा शेयर गरिने जानकारीहरु सीमित बनाउँदा मानसिक स्वास्थ्यमा उल्लेख्य वृद्धि हुने अनुसन्धानहरुले पनि देखाएका छन् ।

आफ्नो निजी जीवन र बाहिरी जगतको निगरानीबिच मानसिक तगारो खडा गर्दा सबै स्थिति आफ्नो नियन्त्रणमा छ भन्ने भावना बढ्छ र मनको शान्तिमा खलल उत्पन्न हुन्न ।

निजी जीवनलाई गोप्य राख्नु सुरक्षित पनि छ

मानसिक स्वास्थ्यका लागि सुरक्षाको महत्वमाथि मनोवैज्ञानिक अध्ययनहरुले जोड दिएका छन् । आफ्नो निजी जीवनबारे सार्वजनिक मञ्चहरु विशेषगरी सामाजिक सञ्जालहरुमा आवश्यकताभन्दा धेरै खुलासा गर्दा पहिचान चोरी हुने, साइबर बुलिङमा परिने, नचाहिएको ध्यानाकर्षण हुनेलगायत अनेकौँ जोखिम आइपर्छ ।

जोखिमको दृष्टिको मनोवैज्ञानिक पाटो बुझ्ने हो भने सामाजिक सञ्जालहरुमा निजी जानकारीहरु सार्वजनिक गर्ने कुराप्रति बढी सतर्कता अपनाउन प्रेरणा मिल्छ ।

निजी सम्बन्ध बलियो हुन्छ

गुणस्तरलाई महत्त्व दिने कि संख्यालाई भन्ने कुराले मनोवैज्ञानिक बहसको कुरा हुन सक्छ । यो सिद्धान्त अन्तरव्यैक्तिगत सम्बन्धमा पनि लागू हुन्छ ।

व्यक्तिगत जीवनबारे सामाजिक सञ्जालहरुमा बढी खुलासा गर्दा व्यक्तिगत सम्बन्धको गहिराई र प्रमाणिकता फिक्का हुन सक्छ । निजी जीवनका पक्षहरुलाई आफ्नो जीवनमा साँच्चै अर्थ राख्नेहरुसँग मात्रै शेयर गर्नुपर्छ ।

जीवनको के–के कुरालाई सार्वजनिक गर्ने, खुला बनाउने र के लाई चाँहि गोप्य राख्ने भन्ने कुराबिच सन्तुलन बनाइराख्दा निजी सम्बन्धमा विश्वास, बुझाई र आपसी समझदारीलाई बलियो बनाउन सकिन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित