हामीले दैनिक खानामा प्रयोग गर्ने गोलभेंडामा पोषक तत्त्व भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त गोलभेंडाले छालाको चमक पनि बढाइदिन्छ ।
यसमा पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा पाईनुका साथै कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । शारीरिक व्यायाम गरेपछि शरीरको ऊर्जा कम हुन्छ । र, हामीहरू उर्जा बढाउन एनर्जी ड्रिंक लिन्छौं तर हराएको ऊर्जालाई फेरि पाउनका लागि सबभन्दा सहज उपाय भनेको गोलभेंडाको जुस पिउनु नै हो ।
गोलभेंडामा भएका रसायनले व्यायामपछि मांसपेशी तन्किएर दुखेकोलाई शान्त पार्छन् र रक्तसञ्चारलाई पनि सामान्य बनाउछ ।
ग्रीसको जनरल केमिकल स्टेट लेबोरेटोरीले गरेको दुई महिनासम्म १५ खेलाडीमाथि गरेको अनुसन्धानमा नौजनालाई गोलभेंडाको जुस पिउन दिइयो भने बाँकी ६ जनालाई एजर्नी ड्रिंक पिउन दिइयो । अनि व्यायामअघि, व्यायामका बेलामा र व्यायामपछि खेलाडीहरूको शारीरिक गतिविधिमा भएको परिवर्तनको अध्ययन गरियो ।
अध्ययनले गोलभेंडाको जुस पिउने खेलाडीको मांसपेशी व्यायामपछि छिट्टै सामान्य स्थितिमा आएको पाइयो भने एनर्जी ड्रिंक पिउने खेलाडीमा चाहीँ यस्तो नभएको पाइयो । यसको अर्थ, तपाईंले व्यायाम गरेपछि गोलभेंडाको जुस पिउनुभयो भने थकान हट्छ र ऊर्जावान् अनुभव गर्नुहुनेछ ।